काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चारजनालाई गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका– ८ घर भई काठमाडौं टोखा नगरपालिका– ३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका– १ घर भई काठमाडौं कागेश्वरी–मनोहरा नगरपालिका– ८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका– ३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका– १ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका– १४ नख्खिपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये मगरले दुईजनालाई क्यानडा, सुनुवारले एकजनालाई क्रोएसिया र खड्काले एक जनालाई कुँवेत पठाई आकर्षक काम लगाइदिने भन्दै पीडितबाट पटकपटक ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
यसैगरी गुरुङले एकजनालाई नेदरल्यान्ड पठाईदिने प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु। तीन लाख ४५ हजाररकम ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।