गोरखा । जिल्लामा ३८ दशमलव ०७ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । गोरखामा २०७४ असारबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमको पहुँचमा हालसम्म ३८ दशमलव ७ प्रतिशत पुगेका हुन् ।
जिल्लाको कुल २ लाख ५१ हजार २७ जनसंख्या मध्ये २०८० असार मसान्त सम्म जम्मा ९५ हजार ५८५ जनाले बीमा गराएको स्वास्थ्य बीमा बोर्ड गोरखा शाखाले जनाएको छ । हालसम्म सबैभन्दा धेरै गोरखा नगरपालिकामा २३ हजार ५१८ जनाले स्वास्थ्य बीमा गराएको शाखाका जिल्ला संयोजक विशाल लौडारीले जानकारी दिए ।
यस्तै पालुङटार नगरपालिकामा १७ हजार ८६७, सिरानचोक गाउँपालिकामा १० हजार ४४६, भीमसेन थापा गाउँपालिकामा ९ हजार ७५ जनाले स्वास्बीमा गराएका छन् ।
यस्तै आरुघाट गाउँपालिकामा ८ हजार ५८७, शहिद लखन गाउँपालिका ८ हजार ६७४, अजिरकोट गाउँपालिका २ हजार ४७९, बारपाक सुलिकोट गाउँपालिका ६ हजार ६८४, गण्डकी गाउँपालिकाका ५ हजार ५११, धार्चे गाउँपालिकामा १ हजार ९६९ र चुमनुब्री गाउँपालिकामा ७ सय ७४ जनाले स्वास्थ्य बीमा गरेको उनले बताए ।
बीमा गराउनेमा पुरुष भन्दा महिलाको संख्या धेरै रहेको छ । ५० हजार १५० जना महिलाले बीमा गरेका छन् भने ४५ हजार ४३५ जना पुरुषले बीमा गराएको कार्यालयले जनाएको छ । बीमा गराएकामध्ये ७० वर्षभन्दा माथिका १६ हजार ९५० ज्येष्ठ नागरिक, ६९० ‘क’ बर्गका अपाङ्गता भएका व्यक्तिको परिवार, १ हजार ९३३ अति गरिब र २३४ एच्आइभी संक्रमितको परिवारले बीमा गराएका छन् । ज्येष्ठ नागरिक, ‘क’ बर्गका अपाङ्गता भएको परिवार, अति गरिब र एचआइभी संक्रमितको परिवारको बिमाको प्रिमीयम (रकम) भने सरकारले तिरिदिने गरेको उनले बताए ।
अन्य व्यक्तिले स्वास्थ्य बीमा गर्दा १ देखि ५ सदस्य सम्मको परिवारको लागि ३ हजार ५०० रुपैयाँ लाग्छ । उक्त रकम तिरेपस्चात वर्षभरीमा १ लाख बराबरको सेवा लिने पाउने छन् । यदि ५ जनाभन्दा बढी सदस्य भएको परिवार भए प्रति व्यक्ति ७ सय रुपैयाँ थप्नु पर्छ । जसबापत सेवापनि २० हजार थप लिन सक्ने व्यवस्था रहेको छ । १० जनाको परिवार छ भने अधिकतम ७ हजार बुझाउनुपर्ने हुन्छ भने अधिकतम २ लाख सम्मको सेवा सुवीधा पाउने जनाइएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने व्यक्तिले कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतका उपचारमा वार्षिक १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा र निःसुल्क उपचार लिन पाउने छन् । प्लास्टिक ९कस्मेटीक० सर्जरी, लिङ्ग परिर्वतन, १ हजार भन्दा बढि मुल्यको चस्मा लगायतका सेवा र उपचारलाई बिमाले समेट्दैन् । आर्थिक अभाव भोगिरहेका नागरिकलाई पनि सजिलैसँग स्वास्थ्य उपचार सेवाको पहुँचमा ल्याउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।