काठमाडौँ । क्याम्पसमा पढाउन अब अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय योग्यता परीक्षण सञ्चालन निर्देशिका जारी गर्दै विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा शिक्षण गर्नुपूर्व परीक्षा उत्तीर्ण गरी अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको हो ।
विज्ञहरूको सुझावका आधारमा निर्देशिका जारी गरेर अनुमतिपत्र लिने व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ ।
उच्च शिक्षामा राष्ट्रिय योग्यता परीक्षण (निट) लागू गर्न आयोगले अर्थ मन्त्रालयसँग सहमति मागेको छ । मन्त्रालयबाट सहमति पाएलगत्तै परीक्षा सञ्चालन गरिने अधिकारीले बताए । विद्यालय तहमा शिक्षक बन्न हाल स्थायी अनुमतिपत्र लिनुपर्ने प्रावधान छ ।
शिक्षक सेवा आयोगले परीक्षा सञ्चालन र लाइसेन्स वितरणको काम गर्दै आएको छ । उच्च शिक्षाको हकमा आयोगले यस्तै व्यवस्था लागू गर्न लागेको हो ।
निर्देशिकामा कम्तीमा ५५ प्रतिशत अंक वा ३.० जीपीए प्राप्त गरी स्नातकोत्तर उपाधि प्राप्त व्यक्तिले मात्र लाइसेन्सका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
विद्यावारिधि गरेकाको हकमा भने स्नातकोत्तरमा कम्तीमा ५० प्रतिशत अंक वा ३।० जीपीए ल्याएको हुनुपर्नेछ । लाइसेन्सका लागि एक सय पूर्णाङ्कको परीक्षा सञ्चालन गर्ने र ५० प्रतिशत अंक प्राप्त गरे मात्र उच्च शिक्षामा अध्यापन गराउन योग्य मानिने निर्देशिकामा उल्लेख छ ।
एक सय पूर्णाङ्कमा विषयगत ज्ञानसम्बन्धी ५०, शिक्षण कौशलमा ३० र अनुसन्धान योजनामा २० पूर्णाङ्कको परीक्षा सञ्चालन गरिनेछ ।