काठमाडौँ । वीर अस्पतालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको लतमा लागेकाहरुको उपचारका लागि सुरु गरिएको ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ तीन महिनामै बन्द भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले २५ हजार ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ का लागि प्रयोग हुने निकोटिन चुइङ्गम उपलब्ध गराएपछि गत जेठ १७ गतेबाट सुरु भएको उक्त थेरापी चुइङ्गम सकिएसंगै करिब तीन महिनापछि बन्द भएको हो ।
विश्व स्वास्थ्य सङ्गठनले थप चुइङ्गम नदिएकोले कार्यक्रम नै रोकिएको हो । वीर अस्पतालले डब्ल्यूएचओलाई निकोटिन चुइङगम खरिदका लागि पत्र पठाएको छ ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले निकोटिन चुइङ्गमका लागि औषधि व्यवस्था विभागलाई पत्र पठाएपनि विभागले चुइङ्गम खरिदका लागि अनुमति नलिएकाले खरिद गर्न समस्या भएको बताए ।
निर्देशक डा. पौडेलले चुइङ्गम प्राप्त भएमा ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ पुनः सञ्चालन गर्ने बताए ।
विश्व स्वास्थ्य सङ्गठनले थप चुइङ्गम नदिएकोले कार्यक्रम नै रोकिएको हो । अस्पतालले निकोटिन चुइङ्गम खरिदका लागि बजेट छुट्याए पनि प्राप्तिका लागि अनुमति नहुँदा समस्या भएको उनले बताए ।
निकोटिन रिप्लेसमेन्ट थेरापी धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत लागेकालाइ लत छुटाउन दिइने निकोटिन युक्त चुइङ्गम हो ।