काठमाडौं । कोशी प्रदेशमा डेङ्गुबाट मृत्यु हुनेको संख्या १४ पुगेका छन् । मृत्यु हुने १४ मध्ये १३ जना सुनसरीका र एक जना मोरङको रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
कोशीमा हाल सम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या २२ हजार २ सय ३७ रहेको र सो मध्ये आधाभन्दा बढी सुनसरी जिल्लाका रहेका छन् । सुनसरीमा हालसम्म १५ हजार ९ सय ५२ डेङ्गु सङ्क्रमित भएका छन् ।
मोरङमा हालसम्म तीन हजार ३ सय ६३ जना, झापामा एक हजार ४ सय २०, उदयपुरमा ४ सय ४९, धनकुटामा २ सय ६४ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
हिमाली जिल्ला सङ्खुवासभामा दुई सय ४०, इलाममा एक सय ६८, भोजपुरमा एक सय ५४, तेह्रथुममा एक सय १५, पाँचथरमा ४७, ताप्लेजुङमा ३३, ओखलढुङ्गा र खोटाङमा ५, ५ र सोलुखुम्बुमा २ जनामा सङ्क्रमण देखिएको छ ।
यो सँगै कोशी प्रदेशका सबै जिल्लामा सङ्क्रमण देखा परेको छ । तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।