काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तीन दिनको अल्टिमेटम दिएको छ ।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष दुजाङ शेर्पाले बढाइएको शुल्क तत्काल फिर्ता लिनुपर्ने बताए । तीन दिनभित्रमा शुल्क वृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
भदौ ४ गते सूचना निकालेर संस्थानले इन्जिनियरिङतर्फ स्नातक तहको शुल्क वृद्धि वृद्धि गरेर ७ लाख ७५ हजार ४२० रुपैयाँ पुर्याइएको जनाएको थियो ।
अध्यक्ष शेर्पाले चर्को शुल्क लिने र त्रिविका पदाधिकारीदेखि संस्थानको डीन विदेश भ्रमणमा जाने गरेको बताए । पैसा छैन भनेर बढाएको चर्को शुल्क फिर्ता नगरे उनीहरूले कुनै पनि देशमा जान नपाउने उनले चेतावनी दिए ।
यता शुल्क वृद्धि फिर्ता लिन माग गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष शुलभ चापागाई मंगलबारदेखि अनसनमा छन् । अध्यक्ष शेर्पाले उक्त अनसनमा नेविसंघ केन्द्रीय समितिको ऐक्यबद्धता रहेको बताए ।