काठमाडौं । अब टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफरमा एउटै नम्बर प्रयाेग हुने भएको छ ।
सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले समान किसिमका यूएसएसडी कोड प्रयोगमा ल्याएका हुन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि अनुसार दुवै कम्पनीले एकै किसिमका यूएसएसडी ल्याएका हुन् ।
कसरी प्रयोग गर्ने एकै प्रकारका नयाँ यूएसएसडी कोड ?
१. ब्यालेन्स रिचार्ज गर्न १२२
यदि तपाईं रिचार्ज कार्ड खरिद गरी पिन नम्बर राखेर मोबाइल रिचार्ज गर्नु हुन्छ भने एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा यो यूएसएसडी कोड प्रयोग गर्न सक्नु हुन्छ । जसका लागि *१२२*रिचार्ज पिन नम्बर# राखी डायल गर्नुपर्ने हुन्छ ।
यसअघिदेखि ब्यालेन्स रिचार्ज गर्न टेलिकममा *४१२*रिचार्ज पिन नम्बर# र एनसेलमा *१०२*रिचार्ज पिन नम्बर# डायल गर्नुपर्ने व्यवस्था मिलाइएको थियो । यद्यपि यो विधिबाट अझै केही समयसम्म ब्यालेन्स रिचार्ज गर्न सकिनेछ ।
२. ब्यालेन्स ट्रान्सफरका लागि १३३
ब्यालेन्स ट्रान्सफरका लागि समेत दुवै कम्पनीको नेटवर्कमा एउटै १३३ नम्बरको यूएसएसडी प्रयोग गर्न सकिन्छ । यद्यपि ब्यालेन्स ट्रान्सफर गर्ने दुवै कम्पनीको तरिका भने केही फरक छ ।
नेपाल टेलिकमको एउटा मोबाइलबाट अर्को मोबाइलमा ब्यालेन्स ट्रान्सफर गर्न *१३३*सेक्युरिटी कोड*ब्यालेन्स ट्रान्सफर गरिने मोबाइल नम्बर*ट्रान्सफर गर्ने रकम# डायल गर्नुपर्ने हुन्छ ।
तर एनसेलमा भने यो यूएसएसडी को प्रयोग गरी ब्यालेन्स ट्रान्सफर गर्न *१३३*ब्यालेन्स ट्रान्सफर गर्न चाहेको मोबाइल नम्बर*ट्रान्सफर गर्न चाहेको रकम# डायल गर्नुपर्ने हुन्छ ।
यसअघिको व्यवस्था अनुसार नेपाल टेलिकमको ब्यालेन्स ट्रान्सफर गर्न *४२२*सेक्युरिटी कोड*ब्यालेन्स ट्रान्सफरको गन्तव्य मोबाइल नम्बर*ट्रान्सफर गर्न चाहेको ब्यालेन्स# डायल गर्नुपर्ने हुन्छ । यदि तपाईं टेलिकमको आफ्नो सेक्युरिटी कोड थाहा छैन भने मेसेज बक्समा SCODE टाइप गरी १४१५ मा पठाउन सक्नु हुन्छ ।
एनसेलमा भने ब्यालेन्स ट्रान्सफर गर्न *१७१२२*ब्यालेन्स ट्रान्सफर गर्न चाहेको गन्तव्य मोबाइल नम्बर# डायल गर्नुपर्ने हुन्छ । यसका लागि सेक्युरिटी कोड आवश्यक पर्दैन ।
३. ब्यालेन्स जाँचमा १४४
दुवै नेटवर्कमा एउटै यूएसएसडी नम्बरबाट ब्यालेन्स इन्क्वाइरी अर्थात चेकजाँच गर्न पनि सकिन्छ । यसका लागि एनसेल र नेपाल टेलिकम दुवैका लागि *१४४# डायल गरे पुग्छ । यसअघिको व्यवस्था अनुसार एनसेलमा ब्यालेन्स चेक गर्न *१०१# अथवा *९०१# र टेलिकममा *४००# डायल गर्नुपर्ने हुन्छ ।