काठमाडौँ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नलिई भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ ।
चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताए । उनले त्यसका लागि सम्बद्ध निकायले सूचना जारी गर्नुपर्ने बताए । ‘एनओसी नलिईकन भारतिय सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रले मान्यता पाउँदैन’ उनले भने ।
अहिले नेपाली विद्यार्थीहरू नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् । मङ्गलवार शिक्षा पत्रकार सञ्जालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै काप्रीले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताए । उनले नियमनकारी निकायको प्रभावकारिता नदेखिँदा अभिभावक र विद्यार्थीहरू अन्योलमा परेको बताए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा अयोगले समन्वय नगर्दा समस्या निम्तिएको बताए । उनले भारत सरकारले १५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गरेको भन्दै ती मध्ये अधिकांश बोर्डरमा कलेज स्थापना भएको बताए ।
अधिकारीका अनुसार आयोगले प्रभावकारी समन्वय नगर्दा अहिले ७३ वटा नर्सिङ कलेज बन्द अवस्थामा रहेका छन् ।
कार्यक्रममा चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका अध्यक्ष निर्मल सापकोटाले स्तरोन्नतिको मापदण्डमा आशय पत्र भन्ने व्यवस्था नै नरहेको बताए ।