जापान सरकारले सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई भेन्टिलेटर सहयोग गरेको छ। आगोले पोलेका बिरामीलाई सन् १९९७ देखि प्लास्टिक सर्जरीमार्फत उपचार गर्दै आइरहेको उक्त अस्पताललाई भेन्टिलेटर र स्वास्थ्य सामग्री सहयोग गरेको हो।
जापान सरकारले अस्पताललाई प्रदान गरेको भेन्टिलेटरसहितको आईसीयू कक्षको सोमबार सुष्मा कोइराला मेमोरियल ट्रष्टका संस्थापक संरक्षक एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र नेपालका लागि जापानी राजदूत किकुता युतुकाले आज संयुक्त रुपमा उद्घाटन गरे।
पूर्वउपप्रधानमन्त्री कोइरालाले आफ्नो आमाको जलनको कारण उपचारको अभावमा मृत्यु भएको चर्चा गर्दै कोही नेपाली पनि जलनका कारण मृत्यु हुन नपरोस् भन्ने चाहनाका साथ अस्पताल स्थापना गरिएको बताइन्।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत युतुकाले राजदूतावासको सानो सहयोगले जलनका बिरामीको जीवन रक्षा गर्न ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। अस्पतालमा आगोले पोलेको, करेन्ट तथा एसिडबाट भएका जलनको उपचार हुनाका साथै अन्य विशेषज्ञ सेवा दैनिक रुपमा उपलब्ध हुँदै आएको छ। रासस