काठमाडौं । गत आर्थिक वर्षको चार महिनामा ९ सय ३७ जनाले टेलिमेडिसिन सेवा लिएका छन् । उनीहरूले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वैदेशिक रोजगार बोर्डले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवामार्फत स्वास्थ्य सेवा लिएका हुन् ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत रहेको बैदेशिक रोजगार बार्डले नेपालकै पहिलो अस्पताल वीर अस्पतालमा सेवा केन्द्र स्थापना गरेर सो सेवा सञ्चालन गरेको छ ।
यो सेवा लिन नेपाली श्रमिकले वीर अस्पतालमा रहेको सेवा केन्द्रको मोवाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो बाट फोन गर्नु पर्ने प्रावधान छ । टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर बिमारी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइरहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
टेलिमेडिसिन सेवा लिनेहरूमा सबैभन्दा बढी मलेसियाबाट २ सय ७५ जना छन् ।
त्यसैगरी साउदी अरेबियाबाट २ सय २७ जना, युएईबाट ९७, कुवेतबाट ७१, कतारबाट १ सय ४, जापानबाट १९, कोरियाबाट ५७, पोर्चुगलबाट ११,रोमानियाबाट ११ र अन्य मुलुकबाट ६५ गरी जम्मा ९ सय ३७ जनाले सेवा लिएको बोर्डले जनाएको छ । सबैभन्दा बढी मेडिसिनमा ३ सय १२, सर्जरीमा १ सय ७२ र अर्थोपेडिकमा १ सय ३२ जनाले सेवा लिएका छन् ।
विशेष गरेर टेलिमेडिसिनमा नाक, कान, घाँटी, ग्याष्ट्रिक, दाँत, पेट, छाती, रुघाखाकी लगायत नियमित खाइरहेका औषधीहरुको बारेमा बढी जिज्ञासा आउने गरेको वीर अस्प्ताल स्थित सेवा केन्द्रमा कार्यरत मेडिकल अधिकृतहरुले बताएका छन् ।