काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ मन्त्रालयले यसै आर्थिक वर्षभित्र देशभरिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउन अभियान सञ्चालनको तयारी गरेको हो ।
खोप अभियानका लागि स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई गत साउन– २ गते औपचारिक रुपमा पत्र पठाइ दादुरा–रुवेलाविरुद्धको खोप माग गरेको छ । खोप शाखा प्रमुख डा अभियान गौतमले अभियानका लागि गाभीसँग ९७ लाख मात्रा खोप माग गरिएको जानकारी दिए ।
भारतसँग सिमाना जोडिएका २१ र उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई उच्च सङ्क्रमित जिल्लाको रुपमा लिइएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले देशभरि नै खोप सञ्चालन गर्नका लागि नेपालमा रहेको साधनस्रोत अभाव हुने भएकोले गाभीलाई खोपका लागि आग्रह गरिएको जानकारी दिए ।
निर्देशक लालले अन्य रोगजस्तो दादुरा नभएकोले चार–पाँच वर्षबीचको अन्तरमा देशभरि नै अभियान सञ्चालन गर्नुपर्ने बताए । देशभरि नै जोखिममा रहेका १६ जिल्लामा अरु खोप ८०/८५ प्रतिशत बालबालिकालाई लगाइयो भने अन्य १०/१५ प्रतिशत बालबालिका पनि सुरक्षित हुन्छन् भन्ने छ” उनले भने, “तर दादुरा खोप कमसेकम ९५ प्रतिशत बालबालिका लाई लगाउनुपर्दछ ।”
नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार ८० प्रतिशत बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका छन् । सरकारले पहिलो पटक सन् २०१९ मा र त्यसपछि सन् २०२३ मा दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो तर कोभिड–१९ महामारीका कारण २०२३ मा निवारण गर्न नसक्ने जनाएपछि सन् २०२६ सम्म निवारण गर्ने लक्ष्य लिएको छ ।