काठमाडौं । भान्साबाट सुरु भएको प्रदुषणको प्रत्यक्ष असर दिगो विकास लक्ष्यमा पर्ने गरेको देखिएको छ । नेपालका आधा जसो परिवारले अझैपनि अब्यवस्थित रुपमा आगोबाट खाना पकाउने हुँदा त्यसको प्रत्यक्ष असर दिगो विकास लक्ष्यमा परेको हो ।
स्वच्छ हावा अभियान्ता भुषण तुलाधरका अनुसार प्रदुषणको सुरुवात भान्साबाट सुरु हुने भएकाले त्यसको असर दिगो विकास लक्ष्यमा पर्ने गरेको हो । घरभित्रैको प्रदुषित धुवाँले परिवारभरका सदस्यको स्वास्थ्य, शिक्षा, रहनसहन, खानपानदेखि दैनिकीमा प्रत्यक्ष असर पर्ने भएकाले दिगो विकास लक्ष्यमा त्यसको नकरात्मक प्रभाव परेको तुलाधरको भनाई छ ।
बुधबार यूएसए आइडी र एफएचआई ३६० को सहकार्यमा वातावरण र जनस्वास्थ्य संस्था (इन्फो) ले आयोजना गरेको दिगो विकास र स्वच्छ हावा बिषयक अन्तरकृया कार्यक्रममा तुलाधरले नेपालमा अझैपनि ५० प्रतिशत घरपरिवारले आगोको चुल्होमा खाना पकाउने गरेको तथ्यांक उल्लेख गर्दै त्यसको असर मानवदेखि वातावरणसम्म परेको बताए ।
‘प्रदुषणको मुख्य स्रोत हाम्रै घरको चुल्होबाट सुरु हुन्छ, त्यसले गर्भमा रहेको बच्चाको स्वास्थ्यदेखि वरपरको वातावरणमा नकरात्मक असर गर्छ’ उनले भने ‘स्वास्थ्यलाई मात्रै होइन, यसले शिक्षा, सिकाई, आम्दानी, श्रमदेखि गरिबीसम्म प्रभाव पार्छ ।’
वायु प्रदुषणबाट विश्वमा हरेक बर्ष ७० लाख मानिसको ज्यान गइरहेको प्रतिवेदन उनले सहभागीहरुलाई देखाए । सन् २०१९ को प्रतिवेदन अनुसार नेपालमा मात्रै ४२ हजार १ सय र काठमाडौंमा ५ हजार बढी मानिसको मृत्यु प्रदुषणका कारण भइरहेको छ ।
सरकारले प्रदुषण रोकथामका लागि बिभिन्न नीति, योजनाहरु ल्याएपनि प्रभावकारी कार्यान्वयन नहुँदा समस्या झनै बढेर गएको भन्दै तुलाधरले चिन्ता ब्यक्त गरे । त्यस्तै उनले गाउँदेखि शहरसम्म प्रदुषणका कारण र माध्यमको पहिचान गरी विकल्प दिनुपर्ने तर्क गरे ।
प्रदुषणकै कारण ६६ प्रतिशत मानिसमा दिर्घकालिन फोक्सोको रोग, ३४ प्रतिशतलाई मुटुको रोग, ३७ प्रतिशतलाई मष्तिस्कघात, ४७ प्रतिशतलाई तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण र २२ प्रतिशत नवजात शिशुको मृत्यु भइरहेको तथ्यांक समेत उनले सार्वजनिक गरे ।
प्रस्तुतीका क्रममा उनले सरकार र नागरिक समाजले चाहे नेपाललाई धुवाँमुक्त बनाउन असम्भव नरहेको बताए । ‘देशलाई दिशामुक्त क्षेत्र बनाउन ५ बर्षपनि लागेन भने धुँवामुक्त बनाउन असम्भव छ र ? प्रश्न गर्दै उनले भने ‘सबैको इच्छाशक्ति हुनुपर्छ पोलुशनलाई शोलुशनमा बदल्न समय लाग्दैन ।’

कार्यक्रमम दिगो विकास लक्ष्य सञ्जालका संयोजक दया सागर श्रेष्ठले दिनगो विकास लक्ष्यको प्रगती हेर्दा सन्तोषजनक अवस्था नरहेको बताए । गत बर्ष सन् २०२२ को एशिया प्यासिफिकको प्रतिवेदन अनुसार हालसम्म करिब १४ प्रतिशत मात्रै लक्ष्य अनुसार उपलब्धी हासिल भएको उनले जानकारी गराए ।
सन् २०१६ देखि २०३० सम्म दिगो विकास लक्ष्यमा पुग्ने भनिएपनि हालसम्म एशियाली देशहरुमा यसको प्रगति १४ दशमलव ४ प्रतिशत मात्रै देखिएकाले अबको सात वर्षमा सतप्रतिशत उपलब्धी पूरा गर्न कठिन रहेको उनको भनाइ छ ।
नेपालको सन्दर्भमा आफूहरु दिगो विकास लक्ष्यको मध्यावधि समिक्षाको चरणमा रहेको र हालसम्मको तथ्यांक र अवस्थालाई हेर्दा प्रगती निराशाजनक रहेको संयोजक श्रेष्ठको भनाई छ ।
त्यस्तै स्वच्छ हावा परियोजनाका राजेन्द्र श्रेष्ठले प्रदुषण कम गराउन विद्यालय तहदेखिकै पाठ्यक्रममा राखेर बालबालिकालाई शिक्षा दिनुपर्ने बताए । उनले बिधार्थीसहित महिला स्वाथ्य स्वयम सेविकालाई समेत यसबारे ज्ञान दिन सकिए अभियानले छिट्टै सार्थकता पाउने विश्वास ब्यक्त गरे ।
उनले प्रदुषणको नकरात्मक प्रभाव १७ वटै दिगो विकास लक्ष्यमा पर्ने भएकाले यसलाई न्यूनिकरण तर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा वातावरणविद् भोलाा भट्टराईले सहभागीहरुवीच वायु गुणस्तर सुशासनका लागि समुदाय अंकपत्रको प्रयोगात्मक कृयाकलाप गराएका थिए ।
