• आइतबार, साउन १० २०८३

अनलाइन कक्षा र नयाँ भर्नाका नाममा शुल्क नउठाउन नेविसंघ गोरखाको चेतावनी


बुधबार, जेष्ठ २१ २०७७
940
Shares

गोरखा । लकडाउनकावीच अनलाइन कक्षा र नयाँ भर्नाका नाममा शुल्क नउठाउन नेपाल विद्यार्थी संघ गोरखाले माग गरेको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएका बेला सरकारले असार १ देखि नयाँ भर्ना लिन विद्यालयलाई आह्वान गरेपछि नेविसंघले तत्काल निर्णय फिर्ता लिन माग हो । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेविसंका जिल्ला अध्यक्ष सुवास अधिकारीले सरकार शैक्षिक माफियासंग मिलेर विद्यार्थीसंग रकम असुल्न लागिपरेको आरोप लगाएका छन् ।

‘​असार १ गतेदेखि नीजि विद्यालयहरुमा भर्ना खुलाउन गरिएको आव्हान तत्काल फिर्ता गरी कार्ययोजना सहित तमाम विद्यार्थीहरुको स्वास्थ्य रक्षामा गम्भीर बन्न हामी सरकारसँग जोड्दार माग गर्दछौं ।’ अध्यक्ष अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘इन्टरनेटका पहुँच सबै ठाउँमा र सबै विद्यार्थीहरुमा नपुगेको आजको अवस्थामा शुरु गर्न लागिएको अनलाइन कक्षा शुरु गरी त्यसैलाई आधिकारिक कक्षाकै रुपमा सञ्चालन नगर्न र शुल्क नलिन हामी जोड्दार माग गर्दछौं ।’

त्यस्तै नेविसंघले भनेको छ ‘आम जनजीविका र स्वास्थ्यका विषयमा, विद्यार्थीका शैक्षिक गतिविधि लगायतका तमाम विषयमा बेवास्ता राख्दै नेपाल सरकार जुन ढङ्गबाट सरकारी विद्यालयमा क्वारेन्टाइन स्थल बनाउने र नीजि विद्यालयलाई शैक्षिक माफियाहरुसँग मिलेमतो गरी भर्ना प्रकृया र पठनपाठनका लागि गरिएको आव्हान प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

कोरोना महामारीले एकातिर सिङ्गो देश र जनता आक्रान्त भईरहँदा राष्ट्रपति कार्यालयमा एक करोडको गलैचा विच्छाउनु, जिमखाना निर्माण गर्न लाग्नु जस्ता कृयाकलापले सरकार जनताका दुखमा गम्भिर नबनेको साथै एकपछि अर्को भ्रष्ट्रचारमा लिप्त बनेको नेविसंघको आरोप छ ।

त्यस्तै बुधबार नै संघले सोही बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई समेत ध्यानाकर्षण पत्र बुझाएकाे सचिव मिलन सिं बस्न्यातले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार