काठमाडौं । अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने भएको छ । स्वदेशभित्र कुनैपनि संघसंस्था वा सरकारी निकायमा आवद्ध नभई ब्यक्तिगत रुपमा श्रम गरिरहेका श्रमिक र आफै बिभिन्न पेशा ब्यवसाय सञ्चालन गरि बसेका स्वरोजगार श्रमिकलाई सरकारले कोषमा आवद्ध गराउन लागेको हो ।
जसको आज बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गर्ने कार्यक्रम तय भएको सामाजिक सुरक्षा कोषका सह प्रवक्ता रोहित रेग्मीले सिभिलखबरलाई बताए । रेग्मीका अनुसार यस योजनामा करिब २५ लाख श्रमिकलाई आवद्ध गराउने उदेश्य छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत रहेको सामाजिक सुरक्षा कोषले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आवद्ध गराउने कार्य थालेको थियो । सो योजनाको गत तैत ८ गते प्रधानमन्त्री दाहालले शुभारम्भ गरेका थिए ।
त्यसयता कोषमा वैदेशिक रोजगारीमा कतार, यूएई, साउदी अरेबिया, मलेसिया लगायतका देशमा रहेका २ लाख ८० हजार ६९१ जना नेपाली श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । यो तथ्यांक हिजो मंगलबारसम्मको हो ।