गोरखा । सरकारले गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुंगा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा राख्ने निर्णय गरेको छ।
आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ढुंगालाई गोरखा दरबारमा राख्ने र अहिलेसम्म संरक्षण गरेको भन्दै राममाया शाहीको परिवारलाई पुरस्कृत गर्ने निर्णय हो ।
उक्त ढुंगालाई गोरखामै राख्नका लागि गोरखाका जनप्रतिनिधि र स्थानीयले सरकारको ध्यानाकर्षण गरेका थिए। मंगलबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग गोरखाका जनप्रतिनिधिले भेटेर उक्त ढुंगालाई गोरखामै राख्न पहल गरेका थिए। त्यसअघि गोरखा नगरपालिकाले पनि उक्त ढुंगा गोरखा दरबार परिसरमा राख्ने निर्णय गरेको थियो।
शाहीको परिवारले वर्षौँदेखि उक्त ढुंगालाई कुल देवताको रुपमा पूजा गर्दै आएको बताएको छ। शाहीले प्रहरीले बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा लगेर राख्दा पनि पूजा गर्दै आइरहेकी छन्।
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी संघसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार बसेकाे सर्वपक्षीय बैठकले क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रूपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो।