काठमाडौं । राष्ट्रिय परिक्षा बाेर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएकाे छ ।
बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।
बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेका छन् ।
कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा ननग्रेड भएका छन् । यो विषयमा १ लाख ९ हजार ५२७ जनाको ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था गरिएको छ ।
परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको थियाे ।
यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.meb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.np मा गएर हेर्न सकिन्छ ।
त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।