काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझसम्म प्रकाशन गर्ने तयारी गरेको छ ।
गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षाको नतिजा प्राविधिक समस्या नआए आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
बोर्डले तयार पारेको तालिका अनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । नतिजा सार्वजनिक गरेपछि कुनै त्रुटि नहोस् भनेर अन्तिम रुजु गर्ने काम भइरहेको उनले बताए ।
परिक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थीले ग्रेड बृद्धिका लागि परीक्षामा सहभागी भएका थिए ।
सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
यसरी हेर्नुस नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न माध्यमबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ। त्यस्तै १६०० मा फाेन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा एसएमएस पठाएर वा नेपाल टेलिकमको *१६०१# मा फाेन गरी प्राप्त निर्देशन अनुसार सिम्बोल नम्बर राखी पनि हेर्न सकिने छ ।