काठमाडौं । काठमाडौंमा बंंगलादेशी नागरिकलाई बन्धक बनाएर परिवारसंग फिरौती माग्ने ७ जना पक्राउ परेका छन् । नेपालको विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन देखाएर काठमाडौंको बिभिन्न होटलहरुमा बन्धक बनाएर उनिहरुको परिवारसंग रकम फिरौती माग्ने गिरोहका ७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
बंगलादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा पक्राउ पर्नेहरुमा ५ जना बंगलादेशी र २ जना नेपाली नागरिक छन् । पक्राउ पर्ने बंगलादेशी नागरिकमा ४७ वर्षीय अमिर हुसेन, ३७ वर्षीय एमडि मोसिउर, ३८ वर्षीय सलिम मियाँ, २१ वर्षीय जहाङ्गीर आलम र २१ वर्षीय तहमिना बेगम रहेका छन् । त्यस्तै नेपाली नागरिकमा सिन्धुपाल्चोक बलेफी की २७ वर्षीया तारा नेपाली र इलाम चुलाचुली कि ३३ वर्षीया रोशनी राई छन् ।
प्रहरी टोलीले बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकलाई उद्दार समेत गरेको छ । गिरोहले नेपाली बाटो हुदै बिभिन्न देशमा वैदेशिक रोजगारीका लागि लैजाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न स्थानहरूमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको खुलेको छ ।
बंगलादेशी पीडित नागरिकहरूले आफूहरूलाई एजेण्टले रोजगारीमा पठाइदिने भन्दै ५ लाख रूपैयाँ लिएर बंगलादेशबाट नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको गुनासो गरेका छन् । नेपाल आएपछि आफूहरूसँग खर्चका लागि भएको पैसा, मोवाइल लगायतका सामाग्री समेत उनिहरुले लुटेको पिडितले बताएका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए ।

वैदेशिक रोजगारीका क्षेत्रमा श्रमिक ठग्नका लागि विचौलियाले बिभिन्न नयाँ नयाँ तरिकाहरु अपनाइरहेको पुष्टि हुन्छ । विचौलियाको गिरोहले नेपालीलाई मात्रै होइन, विदेशीलाई समेत प्रलोभनमा पारेर नेपालको बाटो प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै नयाँ धन्दा सुरु गरेको देखिन्छ । यसले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप चुनौती थपिदिएको छ ।