• शुक्रबार, साउन ८ २०८३

सबै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


शनिबार, साउन २७ २०८०
1.6K
Shares

यतिबेला (शनिबार बिहान) काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा सुदूरपश्चिम, कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

मौसम महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ।

यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार