काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा ओभर सस्क्राइब भएको छ । कम्पनीले साउन २३ गतेदेखि प्रिमियम मूल्यमा १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ ।
तर, तोकिएको अन्तिम समय सीमा भन्दा एक दिन अघि अर्थात् बिहीबारसम्म कम्पनीको आईपीओका लागि १० लाख ८२ हजार ३७९ जनाले १ करोड ३० लाख ५९ हजार ४६० कित्ताका लागि आवेदन दिएका हुन् । यो माग गरेभन्दा १.३६ गुणा बढीको आवेदन हो ।
सर्वसाधारण लगानीकर्ताले भोलि साउन २६ गते कार्यालय समयमा बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । कम्पनीले कूल ४ अर्ब रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख रुपैयाँ बराबरको प्रिमियम मूल्यमा आईपीओ बिक्रीमा ल्याएको हो ।
जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ भने बाँकी रहेको सेयरबाट ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लागि बिक्री खुल्ला गरिएको हो ।
लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्मका लागि आवेदन दिन सक्छन् ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।