काठमाडौँ- एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई यही साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेस गर्न आह्वान गरिएको छ ।
आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ साउन १८ गते सकिएपछि उक्त पद रिक्त हुँदा त्रिविमा सेवा आयोगका काम प्रभावित छन् । उक्त पदका लागि २०७९ भदौ २८ गते नै सूचना प्रकाशन भई ‘सर्टलिष्ट’ तयार गरिए पनि उक्त प्रक्रिया रद्द गरी हाल पुनः सूचना प्रकाशन गरिएको हो ।
उपकुलपतिको कार्यकाल तीन महिना बाँकी
यसैबीच त्रिविको उपकुलपति रिक्त हुनुअगावै नयाँ उपकुलपति चयन गर्न प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरिएको छ । वर्तमान उपकुलपति डा धर्मकान्त बाँस्कोटाको कार्यकाल आगामी कात्तिक १६ गते सकिँदैछ ।