काठमाण्डौ । पछिल्लाे समय नेपालीहरुले युरोपलाई वैदेशिक रोजगारीको नयाँ गन्तव्य बनाउने क्रम बढेकाे छ । रोजगारीको लागि युरोपेली देश जाने क्रम दिनप्रतिदिन बढ्दै गएको सरकारी तथ्याँकले देखाएको हा ।
गएको आर्थिक वर्ष २०७९/८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड लगायतका देशमा जाने नेपालीहरुको सङ्ख्या बढेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याँक अनुसार नेपालीहरुले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाइ र क्यानडा रहेका छन् । यी देशमा जान मात्रै आर्थिक वर्ष २०७९/८० मा ४४ हजार ३२७ जनाले श्रम स्वीकृति लिएका छन् ।
नेपालीहरु धेरै रोजगारीमा जाने युरोपेली देशमध्ये रोमानियाको लागि १ हजार ७७३ महिलासहित १४ हजार २२५ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा रोमानियाको लागि ७ हजार ४७५ जनाले श्रम स्वीकृति लिएका थिए ।
क्रोएसियाको लागि आर्थिक वर्ष २०७९/८० मा ५ सय २९ महिलासहित ७ हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन् । जुन त्यसको अघिल्लो आर्थिक वर्षको भन्दा २ हजार भन्दा बढी हो । आर्थिक वर्ष २०७८/७९ मा क्रोएसियाको लागि ५ हजार ३३४ जनाले श्रम स्वीकृति लिएका थिए ।
यस्तै युरोपेली अर्को देश साइप्रस जाने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा ४ हजार १८१ जना नेपाली साइप्रस गएकोमा गत वर्ष बढेर यो संख्या ४ हजार ३४६ महिलासहित ५ हजार ३१७ पुगेको छ । साइप्रस घरेलु महिला श्रमिकको लागि खुल्ला गरेकाले यहाँ जाने महिला श्रमिकको संख्या बढी छ ।
यस्तै पोल्याण्ड जाने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०७९/८० मा पोल्याण्ड जानको लागि ७१४ महिलासहित ५ हजार ११२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसको अघिल्लो वर्ष यो देशको रोजगारीमा जान एक हजार ८५५ जनाले मात्र श्रम स्वीकृति लिएका थिए ।
यस्तै दक्षिण युरोपेली देश माल्टा पनि नेपाली श्रमिकको रोजाइमा पर्दै आएको छ । आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९१५ जना रोजगारीको लागि माल्टा पुगेका थिए । तर गएको आर्थिक वर्षमा माल्टा जानेको लहर ह्रवात्तै बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा ४ हजार ५६८ पुरुष र एक हजार ७३५ महिला गरी ६ हजार ३०३ जनाले माल्टा जानको लागि श्रम स्वीकृति लिएका छन् ।
यस्तै आर्थिक वर्ष २०७९/८० मा रोजगारीको लागि बेलायत जान ६६९ महिलासहित २ हजार २६४ जना र सर्बिया जान २३३ महिलासहित ९६२ जनाले श्रम स्वीकृति लिएका छन् । २०७८/७९ मा सर्बियाको लागि ९६ जनाले श्रम स्वीकृति लिएका थिए । बेलायतमा भने मौसमी श्रमिकको नाममा पठाउँदा त्यो समयमा अलि धेरै श्रमिक बेलायत गएको देखिन्छ । २ हजार ८१४ जनाले बेलायतको लागि श्रम स्वीकृति लिएका थिए ।
पोर्चुगल पनि नेपाली श्रमिकको रोजाइ गन्तव्य बन्दै गएको छ । आर्थिक वर्ष २०७९/८० मा ६४ महिलासहित ७ सय ३२ जनाले पोर्चुगल जान श्रम स्वीकृति लिएका छन् । त्यसको अघिल्लो आर्थिक वर्ष मा जम्मा ७९ जनाले पोर्चुगल जान श्रम स्वीकृति लिएका थिए ।
यस्तै ब्रुनाइ जान १२७ महिलासहित १३ सय ५५ जना र क्यानडाको लागि १२१ महिलासहित ६४६ जनाले श्रम स्वीकृति लिएका छन् ।