गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन अक्टोवर १७ देखि २०सम्म काठमाडौंमा हुने भएको छ ।
गैरआवासीय नेपाली संघको आइतबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । साथै सोही समय युवा, विज्ञ सम्मेलन समेत सोही अवधिमा गर्ने औपचारिक निर्णय गरेको छ ।
सो बैठकले संघको अगामी महाधिवेशनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ । कार्यकारी अध्यक्ष डा बद्री केसीका अनुसार संघको युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ र अध्यक्षसहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको छ ।
यसअघि अध्यक्ष पदको लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क भएका कारणले संघको आलोचना हुँदै आएको थियो । बैठकले संघको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको दर्ता अगष्ट १० देखि २५ तारिखसम्म खुल्ला गर्ने भएको छ ।