• आइतबार, साउन १० २०८३

१० करोड २७ लाख बढी विगो कायम गरी मालपोत अधिकृत विरुद्ध विशेष अदालतमा मुद्धा दायर


मंगलबार, जेष्ठ २० २०७७
925
Shares

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल का मालपोत अधिकृत बद्रीराज ढकाल बिरुद्ध १० करोड २७ लाख रुपैयाँ भन्दा बढी गैह्रकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।

२०५५ सालमा खरिदार बाट निजामती सेवा प्रवेश गरेका ढकालले आर्जन गरेको १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँमध्ये १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँको श्रोत नखुलेपछि उनीविरुद्ध मुद्धा दायर गरिएको हो। अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाका अनुसार ढकाल संगै श्रीमती सिर्जना अर्याल ढकाल, सम्पत्ति लुकाउन सहयोग गर्ने जेठान नाताका नवराज अर्याल समेतलाई प्रतिवादी कायम गरि मुद्धा दायर गरेको छ।

ढकालले साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेको, आफू र आफ्नै परिवारका सदस्यहरुको बैंक खाताहरुमा खासै कारोवार नगरी स्रोत खुलाउन नसक्ने अवैध आर्थिक कारोवारलाई लुकाउने छिपाउने उद्देश्यले जेठान नाताका नवराज अर्यालका नाममा बैकमा नयाँ खाता खोली खाता खोलेकै दिन खाता संचालकबाट खाता संचालनको अनुमति लिई आफू अनुकूलका व्यक्तिहरुबाट खातामा पैसा जम्मा गरी गराई सो खातामा मौज्दात रकमहरुबाट विभिन्न शिर्षकमा आफू अनुकूल रु. ४ करोड २६ लाख ९९ हजार २९४ रुपैया खर्च गरेका थिए ।

आयश्रोत बढाउन ढकालले तनहुँ जिल्ला मालपोत कार्यालयमा रहँदा स्थानिय डेकबहादुर गुरुङ्ग र निजको श्रीमती समेतका नाममा दर्ता कायम रहेका जग्गाहरु न्युनतम मुल्यमा आफ्नो नाममा ल्याई पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्याधिक मूल्य खुलाई उक्त जग्गाहरु निज डेकबहादुर गुरुङ्ग र निजको श्रीमती र निज डेक बहादुर गुरुङ्गका सहोदर दिदी र भिनाजु र बहिनी समेतका नाममा बिक्री गरी रु. १ लाख ९७ हजार लगानी गरी छोटो समयमै रु. १ करोड ६८ लाख आर्जन गरेको देखाएका थिए ।

अख्तीयारका अनुसार ढकालले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ फाल्गुण मसान्तसम्मको अवधिमा विबिध कार्यका लागि रु. १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैया खर्च तथा लगानी गरेको देखिएको तथा सोही अवधिमा ढकालको आम्दानी जम्मा रु. ४ करोड २६ लाख २४ हजार ३७ रुपैया मात्र देखिएको छ ।

अख्तीयारले आय भन्दा वढि खर्च देखिएको रु. १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैया विगो राखी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैरकानूनी रुपमा निज बद्रीराज ढकालले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरुसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत सम्मको सजायको माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार