काठमाडौँ । पछिल्लो समय युरोपेली देशहरुमा नेपाली कामदारको आकर्षण बढेको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरुले युरोपलाई नयाँ गन्तव्यका रुपमा बनाउने क्रम बढेको हो। खाडी मुलुक केन्द्रित हुँदै आएको पछिल्ला वर्षहरूमा भने युरोपतिर ध्यान जान थालेको देखिन्छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा खाडी मुलुकसँग युरोपका विभिन्न मुलुकमा समेत नेपाली श्रमिकहरूको संख्या बढ्दो क्रममा छ ।
आर्थिक वर्ष २०७९/०८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्टा लगायतका देशमा जाने नेपालीहरूको संख्या बढेको देखिन्छ ।
विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा युरोपेली देशमध्ये सबैभन्दा बढी रोमानिया पुगेका छन् । जहाँ १ हजार ७७३ जना महिलासहित १४ हजार २२५ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा रोमानियाका लागि ७ हजार ४७५ जनाले श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै क्रोएसियाका लागि ७ हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार ३३४ जनाले श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै साइप्रस जानका लागि गत आर्थिक वर्षमा ५ हजार ३१७ जनाले श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार १८१ जना नेपाली साइप्रसका लागि श्रम स्वीकृति लिएका थिए । साइप्रसका लागि ४ हजार ३४६ महिलाले श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै पोल्याण्डमा समेत ५ हजार ११२ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । जबकि अघिल्लो वर्ष पोल्याण्डका लागि १ हजार ८५५ जनाले मात्र श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै माल्टाका लागि समेत ६ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार ९१५ जनाले माल्टाका लागि श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै बेलायतका लागि २ हजार २६४ जना, सर्बिया ९६२ जनाले श्रम स्वीकृति लिएका छन् । पोर्चुगल पनि नेपाली श्रमिकको रोजाइमा पर्दै आएको छ । गत आर्थिक वर्षमा ६४ जना महिलासहित ७३२ जनाले श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो आर्थिक वर्षमा भने जम्मा ७९ जनाले पोर्चुगलका लागि श्रम स्वीकृति लिएका थिए ।
मलेसिया लगायत खाडी मुलुकहरुको तुलनामा कमाई बढी हुने भएकाले युरोपेली मुलुकमा नेपाली कामदारहरुको आकर्षण बढेको हुन सक्ने विज्ञहरु बताउँछन् ।
सरकारले केही समयअघि कार्यदल गठन गरेर वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन समेत गरेको थियो। कार्यदलले तुलनात्मक रूपमा आर्थिक स्थिति बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको थियो।
कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्यान्ड, स्विडेन र डेनमार्कलगायत देशमा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले ती देश नेपाली श्रमिकका लागि उपयुक्त गन्तव्य हुनसक्ने सुझाव दिएको थियो।
युरोप, अमेरिकालगायत अन्य आकर्षक मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या अत्यन्तै न्यून छ। खाडी मुलुक र मलेसियाभन्दा आकर्षक मुलुक खोजेर बढीभन्दा बढी रेमिट्यान्स भित्र्याउने योजना सरकारले समेत बनाएको छ।