गोरखा । अब गोरखा नगरपालिकावासीले मोतियाविन्दुको शल्यक्रिया गराउँदा पैसा नलाग्ने भएकाे छ । गोरखा नगरपालिका र लायन्स आँखा सेवा केन्द्रबीच निशुल्क मोतियाविन्दु शल्यक्रिया सेवा संचालन गर्न शनिवार सम्झौता भएपछि नगरवासीलाई यसकाे सेवा निशुल्क गरिएकाे हाे ।
साे विषयमा गोरखा नगरपालिका र गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखावीच सम्झाैता भएकाे छ । मेयर कृष्ण राना मगर र केन्द्रका अध्यक्ष योङकुमार श्रेष्ठले साे सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नगरवासीलाई निशुल्क मोतियाविन्दु शल्यक्रिया सेवा प्रदान गर्न नगरपालिकाले चालु आर्थिक वर्ष ५ लाख रुपैया विनियोजन गरेको छ । रकम अपुग भए थप बजेट विनियोजन गरिने नगरपालिकाले जनाएको छ ।
केन्द्रले निशुल्क मोतियाविन्दु शल्यक्रिया सेवा प्रदान गरेको आर्थिक प्रतिवेदन मासिक रुपमा नगरपालिकालाई उपलब्ध गराउने र सोही अनुसार नगरपालिकाले केन्द्रलाई रकम भुक्तानी गर्ने सम्झौता पत्रमा उल्लेख छ । शल्यक्रियापछि प्रयोग हुने औषधी र चश्मा समेत निशुल्क उपलब्ध गराइने बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गदैै मेयर रानाले आर्थिक अवस्था कमजोर भएकाहरुलाई यस कार्यक्रमले थप टेवा पुग्ने बताए । त्यस्तै उपमेयर मसली माया थोकर (सपना पुन) ले नगरबासीलाई आधारभुत स्वास्थ्य सेवा अन्तरगत मोतियाविन्दुको उपचार सहज र सरल बनाउन केन्द्रसँग सम्झौता गरिएको बताइन् ।
गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाका अध्यक्ष योङ कुमार श्रेष्ठले अन्य स्थानीय तहहरुले पनि आफ्नो पालिकाबासीको निशुल्क शल्यक्रिया सेवा दिन चाहे केन्द्र सहकार्य गर्न तयार रहेकाे बताए ।