काठमाडौं । आगामी मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउने तयारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन्।
समाजवादी विधार्थी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बारे जानकारी दिएका हुन्।
‘आज प्रधानमन्त्रीको हैसियतले भन्न चाहत्छु, पर्सि मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पहिलोपटक संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउँदैछौं,’ प्रधानमन्त्री प्रचण्डले भने।
उक्त ऐनले शिक्षा क्षेत्रको धेरै कुराहरुलाई सकारात्मक परिवर्तन दिने तागत राख्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ।
‘शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयालाई जनताको मौलिक अधिकारको रुपमा लिपिवद्ध पनि गरिएको छ। यो आफैंमा ठूलो कुरा हो। तर त्योसँग सम्बन्धित ऐन कानुन नबन्दा अहिलेसम्म शिक्षाको क्षेत्रमा परम्पराभन्दा धेरै फरक केही हुन सकेन,’ प्रचण्डले भने।