काठमाडौँ — हिन्दी फिल्मका लोकप्रिय संगीतकार वाजिद खानको निधन भएको छ । मिर्गौलाको समस्याबाट पीडित ४२ वर्षीय वाजिदलाई एक साताअघि मात्रै कोरोनाभाइरस संक्रमण भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
म्युजिक कम्पोजरका सलिम मर्चेन्टका अनुसार वाजिदको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनको मिर्गौलामा संक्रमण देखिएको थियो । पछिल्लो ४ दिनदेखि उनी मुम्बईको एउटा अस्पतालमा भेन्टिलेटरमा थिए ।
साजिद–वाजिदको जोडी बलिउडमा खुब लोकप्रिय थियो । उनीहरु दाजुभाइ हुन् । उनीहरु प्रख्यात तबलावादक उस्ताद शराफत अली खानका छोरा हुन् । उनीहरुले सन् १९९८ मा सलमान खानको प्यार किया तो डरना क्या बाट करिअर सुरु गरेका थिए । त्यसपछि उनीहरुले, गर्भ, तेरे नाम, पार्टनर दंबग, सिरिजजस्ता दर्जनौं फिल्ममा संगीत दिएका थिए । यस वर्षको इदमा यो जोडीद्वारा संगीतबद्ध भाइ भाइ गीत सलमानले गाएका थिए ।
वाजिदले सन् २००८ बाट व्यावसायिक गायन थालनी गरेका थिए । उनका हुड हुड दबंग, जल्वा, फेभिकोल से जस्ता गीत चर्चित छन् ।