शहिद लखन गाउँपालिका ८ स्थित रामेश्वरी माध्यामिक बिद्यालयमा ४ कोठे भवन निर्माण हुने भएको छ ।
जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले उक्त भवन निमाण गर्न लागेको हो ।
आगामी फागुनको ४ गते सम्पन्न गर्ने गरी ए.एम कन्स्ट्रक्सन प्रालिलाई २ करोड ५८ लाखमा ठेक्का दिएका एकिकरण नेपालका परियोजना संयोजक ईश्वर घिमिरेले जनाकारी दिए । उक्त ४ कोठे भवन संगै ४ वटा खानेपानिको धारा राखिने र घेराबार गरिने उनले बताए । त्यस्तै फर्निचरको लागि १३ लाख बिनियोजन गरेको एकिकरण नेपालले जनाएको छ ।
भवनको शुक्रवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर र चाइल्ड फण्ड जापानका कार्यक्रम व्यवस्थापक आयरी होण्डाले संयुक्त रुपमा भवन शिलान्यास गरेका हुन् ।

गाउँपालिका अध्यक्ष थापाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि परियोजना बाट गरिने गतिविधिहरुमा गाउँपालिकाको तर्फबाट सधैं सहयोग, समन्वय र सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे ।
जापान सरकार र नेपाल सरकारबीचलामो समय देखि अत्यन्तै घनिष्ठ सम्वन्ध रहेको र सभ्य समाज निर्माणका लागि शिक्षा एक महत्वपूर्ण क्षेत्र रहेको जापानका कार्यक्रम व्यवस्थापक आयरी होण्डाले बताइन् । नेपालका वालवालिकाहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग गर्नु जापान सरकारको पनि कर्तव्य भएको उनको भनाई छ । उनले यो केवल जापान सरकारको पैसा मात्रै नभएर माया, प्रेम र सद्भाव पनि भएको बताइ्न ।
उक्त विद्यालयको भवन निर्माण संगै सोही गाउँपालिकाको शहिद स्मृति माध्यमिक विद्यालय, चण्डिका आधारभूत विद्यालय र राम्चे आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको क्षमता विकास तथा विद्यालयहरुमा विपद् जोखिम न्यूनिकरण सम्बन्धी गतिविधिहरु सञ्चालन गर्ने एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, शिक्षा समन्वय इकाई प्रमुख सुबास आचार्य, वडा नं ८ का अध्यक्ष बासुदेव ढकाल, कार्यपालिका सदस्य बिमला ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, समाजसेवीहरु, विद्यालका बाल क्लवका पदाधिकारी, अभिभावक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।