• शुक्रबार, साउन २९ २०८३

जुनसुकै विषय पढेकालाई अध्यापन अनुमति पत्र दिन पाउने व्यवस्था लागू भएन

शिक्षक सेवा आयोग नियमावली संशोधन नगरी नयाँ व्यवस्था अनुसार गर्न नसकिने


बिहिबार, साउन ११ २०८०
1.9K
Shares

काठमाडौँ । सरकारले बजेट भाषण मार्फत जुनसुकै विषय पढेका विद्यार्थीले शिक्षण अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स) दिन पाउने भन्ने उल्लेख गरेको थियो ।

चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत सरकारले ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानूनी व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख गरेको थियो ।

तर, शिक्षक सेवा आयोगले पुरानै व्यवस्था अनुसार लाइसेन्सका लागि आवेदन आह्वान गरेको छ ।

निम्न माध्यमिक तहका लागि आयोगले लाइसेन्स आवेदन आह्वान गरेको छ । जसमा विगतझै मापदण्ड भएकाले मात्र आवेदन दिन सकिनेछ । यसका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा (कम्तीमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको व्यक्तिले आवेदन दिन सकिने आयोगले जनाएको छ ।

त्यस्तै तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता भएका व्यक्तिहरूले समेत दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

बजेट वक्तव्यमा व्यवस्था भएअनुसारका लागि शिक्षक सेवा आयोग नियमावली संशोधन हुनुपर्ने आयोगले जनाएको छ । संशोधन नगरी नयाँ व्यवस्था अनुसार गर्न नसकिने आयोगको भनाई छ ।

आयोगको सूचना अधिकारी सुदर्शन मरहठ्ठाले कानूनी व्यवस्था नै नभएकाले अहिले कार्यान्वयन गर्न नसकिएको बताए ।

नियमावली संशोधनको लागि शिक्षा मन्त्रालयमा पठाइएको छ । नियमावली संशोधन भएर नआएका कारण पुरानै व्यवस्था अनुसार खोलिएको उनको भनाई छ ।

आयोगको वार्षिक कार्यतालिका अनुसार साउनमा लाइसेन्सको आवेदन आह्वान गर्नुपर्छ । सोही आधारमा आयोगले लाइसेन्सका लागि आवेदन आह्वान गरेको उनको भनाई छ । नियमावली संशोधन भएर आएपछि अन्यको हकमा लागू हुने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार