काठमाडौँ । महाराजगञ्ज मेडिकल कलेजमा स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राखेर तालाबन्दी गरेपछि क्याम्पस प्रशासनले पठनपाठन बन्द गरेको छ ।
मेडिकल कलेजका क्याम्पस प्रमुख, विभागीय प्रमुख, बिभिन्न समिति, प्राध्यापक संघ, कर्मचारी संघ, प्रशासन प्रमुख सहितको बैठकले साउन ८ गतेदेखि स्ववियु तालाबन्दी गरेको अवस्थामा पठनपाठन गराउन नसकिने भन्दै पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
यो विषयमा क्याम्पस प्रमुख प्रा.डा.अर्जुनप्रसाद लामिछानेले चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयलाई समेत जानकारी गराएका छन् ।
बैठकले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले कुनै तरिकाले गल्ती गरी अनुगमन तथा अनुशासन समितिले छानविन गरी कारवाही गर्ने सिफारिस गरेमा सोको कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै विद्यार्थीले कुनै पनि बहानामा क्याम्पसमा तालाबन्दी गरेमा सो अवधिमा सम्पूर्ण शैक्षिक कार्यक्रमहरू बन्द गर्ने निर्णय गरिएको छ ।
क्याम्पस तालाबन्दी भएको अवधिमा अण्डर ग्रेजुएट का सम्पूर्ण प्रयोगात्मक परीक्षाहरू बन्द गर्ने समेत निर्णय गरिएको छ ।
विद्यार्थीले कुनैपनि बाहानामा क्याम्पसमा तालाबन्दी गरेको खण्डमा जतिदिन तालाबन्दी गरिएको हो, अण्डर ग्रेजुएटका परीक्षा समेत त्यतिनै दिन पछाडि सार्न परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयमा सिफारिस समेत गरेको छ ।
