• शनिबार, साउन ९ २०८३

काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच संयुक्त अध्यापनका लागि सहकार्य


बुधबार, साउन १० २०८०
1.2K
Shares

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले संयुक्त रुपमा अध्यापन गराउन सहकार्य गरेका छन्

स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउने सम्बन्धमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा सङ्घीय शासन तथा जनप्रशासन विषय संयुक्त रुपमा अध्यापन गराउन सम्झौता भएको हो । सम्झौताअनुसार विद्यार्थीले स्नातकोत्तर तहमा तीन सेमेष्टर भर्ना भएको विश्वविद्यालय र बाँकी एक सेमेष्टर सम्बन्धित विश्वविद्यालयमा अध्ययन गर्न सक्नेछन् ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति थापाले मधेस विश्वविद्यालयसँगको सहकार्यले मधेस प्रदेशमा उच्च शिक्षाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मधेस विश्वविद्यालयका उपकुलपति डा शाक्यले स्थापनाको पहिलो वर्षमै काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यले आगामी दिनमा मधेस विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिनका लागि थप प्रेरित गरेको बताए ।

संयुक्त रुपमा अध्यापन गराउन दुवै विश्वविद्यालयले पाठ्यक्रम निर्माणगर्ने सहमति गरेका छन् । त्यस्तै विद्यार्थीको प्रमाणपत्रमा दुवै विश्वविद्यालयको छाप रहने र विद्यार्थीले दुवै विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुपर्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार