काठमाडौँ । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ । दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो ।
निगमका अनुसार आव २०७८/७९ मा ४८ अर्ब ९५ करोड रुपियाँ घाटा रहेको थियो । त्यस्तै आव २०७७/७८ मा ५९ करोड घाटामा थियो ।
मूल्य स्थिरीकरण कोषमा राख्नुपर्ने साढे तीन अर्ब रुपियाँ र भ्याटबापतको साढे तीन अर्ब रुपियाँसमेत आइओसीलाई तिरेको रकम तिरेको निगमले जनाएको छ । जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैङ्कबाट लिएर साढे तीन अर्ब रुपियाँ तिरिसकेको निगमले जनाएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट लिएको सात अर्ब रुपियाँ रकम तिर्न बाँकी रहेको निगमले जनाएको छ । सो ऋण पाँच वर्षका लागि लिइएको हो ।