काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले यस वर्षको डिप्लोमा तथा प्रमाणपत्र तहको शुल्क समायोजन गर्ने निर्णय तत्काललाई स्थगित गरेको छ ।
गत असार २९ गते सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहको समायोजन गरेको शुल्कको सम्बन्धमा विरोध भएपछि समायोजनको निर्णय तत्कालका लागि स्थगित गरेको हो ।
सीटीईभीटीले सरोकारवाला हरूसँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई स्थगित गरिएको जनाएको छ ।
परिषद्ले नर्सिङ, सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको शुल्क बढाएको थियो । डिप्लोमा इन फार्मेसीका लागि प्रथम वर्ष १ लाख ६९ हजार ४६४, दोस्रो वर्षका लागि १ लाख २७ हजार ९८ र तृतीय वर्षका लागि १ लाख २७ हजार ९८ रूपैयाँ शुल्क निर्धारण गरेको थियो ।
त्यस्तै प्रमाणपत्र तह नर्सिङ्गतर्फ प्रथम वर्ष २ लाख ४९ हजार ६९०, द्वितीय वर्ष र १ लाख ८७ हजार २७० र तृतीय वर्षमा १ लाख ८७ हजार २७० रूपैयाँ शुल्क निधारण गरेको थियो । प्रमाणपत्र तह सामान्य चिकित्सातर्फ प्रथम वर्ष २ लाख ९ हजार ५३०, द्वितीय वर्ष १ लाख ५७ हजार १४५ र तृतीय वर्षका लागि १ लाख ५७ हजार १४५ शुल्क निर्धारण गरेको थियो ।
हाल शैक्षिक सत्र २०७१ ०७२ मा तोकिएको शुल्कअनुसार पठनपाठन हुदै आएको छ ।