काठमाण्डाै । अनियमितताको आरोप लगाएर जिम्मेवारीविहीन बनाएपछि काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी प्रमुखले अस्पतालमै आत्महत्या गरेका छन् ।
ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसी इन्चार्ज रहेका अमृत पोखरेलले आत्महत्या गरेका हुन् ।
आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले सेन्टरका प्रशासन प्रमुख भोजकुमार बस्नेतसहित फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए ।
फार्मेसीको स्टोरमा शुक्रबार बिहान पोखरेललाई झुन्डिएरको अवस्थामा मृत भेटिएको थियो । सिसिटिभी फुटेज र सुसाइड नोटका आधारमा पोखरेलले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । सुसाइड नोटमा उनले सहकर्मीहरूले अनियमितताको आरोप लगाएर ब्लाकमेलिङ गरेको र फसाउन खोजेको उल्लेख गरेका छन् ।
प्रहरीका अनुसार केही समयअघि सो फार्मेसीमा औषधि बिक्रीको हिसाबमा करिब २३ हजार रुपैयाँ गडबड भएको थियो । अस्पतालका केही कर्मचारीले सो प्रकरणमा उनलाई लिखित रूपमै माफी मगाएका थिए ।
घटनाको अनुसन्धानका लागि बस्नेतसहित प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा कर्मचारीमाथि कारबाही अघि बढाउने तयारी गरेको छ । चारजनाविरुद्ध मृतकका परिवारले किटानी जाहेरी दिएका छन् । चारजना पक्राउ गरिएको र यातना दिने थप कर्मचारीमाथि छानबिन भइरहेको प्रहरी स्रोत बताउँछ ।