काठमाडौं । जापान सरकारले काठमाडौंमा मानसिक स्वास्थ्य उपचार केन्द्र हस्तान्तरण गरेको छ ।
जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) मार्फत अमेरिकी डलर २ लाख ९६ हजार ८ सय ५६ (तीन करोड नब्बे लाख रुपैया) अनुदान सहयोगमा काठमाडौंमा बनेको उक्त भवन कोशिस नेपालद्वारा सञ्चालित मानसिक उपचार केन्द्र निर्माणको लागि हस्तान्तरण गरिएको हो ।
यो रकम जीजीपी मार्फत नेपाललाई प्रदान गरिएको सबैभन्दा ठूलो रकम भएको जापान राजदुताबासले जनाएको छ ।
शुक्रबार आयाेजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले परियोजनामा संलग्न सबैको प्रयासको प्रशंसा गर्दै मानसिक स्वास्थ्य समस्याबाट पीडित बिरामीहरूलाई उच्च गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन यो परियोजनाले सहयोग पुग्नेमा जोड दिए ।
उनले नयाँ केन्द्रबट उपलब्ध गराइने उत्कृष्ट स्वास्थ्य सेवाबाट बिरामीले चाँडोभन्दा चाँडो लाभ लिन सक्ने आशा व्यक्त गरे ।
यस परियोजनाले जापान र नेपालबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।