काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना लाई विमानस्थलबाटै फर्काएको छ ।
भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो ।
अध्यागमनले श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएको र सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएकोले फर्काइदिएको जनाएको छ ।
घरेलु श्रमिकका रुपमा नेपालबाट कुवेतमा जान नमिल्ने तर फरक भिसाबनाइ म्यानपावरले कुवेत लान लागेको पुष्टि भएपछि रोकेको हो ।
फर्कने मध्ये १०१ जना बुधबार साँझ सलाम एयरमार्फत र १६ जना बिहीबार बिहान कुवेत एयरमार्फत कुवेत जान लगेका थिए ।
यस अघि पनि गत आइतबार श्रम स्वीकृति लिएर जोर्डन जान लागेका १५ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएकोमा पछि अध्यागमन विभागले गल्ति स्विकार गर्दै उनिहरु पुनः जान पाउने भएका थिए ।