• शनिबार, भाद्र २० २०८३

आठ हजार बिरामीको निःशुल्क आँखाको उपचारका लागि नेत्रज्योती सङ्घ र डाक फाउन्डेसनबीच सम्झौता


सोमबार, असार २५ २०८०
910
Shares

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेशन बीचमा आठ हजार बिरामीको निःशुल्क आँखाको उपचारका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा. डा चेतराज पन्त र फाउन्डेशनका तर्फबाट संस्थापक डेभ रिकर्डले हस्ताक्षर गरेका छन् । सङ्घ र फाउन्डेशन बीचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरतको स्वरूप यो वर्षका लागि करिब आठ हजार बिरामीहरूको निःशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता भएको हो ।

आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवन यापन गर्न नपरोस् भनेर जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रूपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । नागरिकले आर्थिक अभावकै कारण दृष्टिविहीन भएर बस्नु नपरोस् भनेर सङ्घले विभिन्न दातृ निकायसँगको सहकार्यमा दसैभरि निःशुल्क शिविर सञ्चालन गरिरहेको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिए ।

डाक फान्डेशनको सहयोगमा अहिलेसम्म करिब पाँच लाख बिरामीहरूको आँखा जाँच गरी ५२ हजार बिरामीको निःशुल्क शल्यक्रिया समेत गरिएको सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले जानकारी दिए ।

फाउन्डेशनले सन् २०२३ का लागि करिब आठ हजार आँखाका बिरामीको निःशुल्क शल्यक्रियाका लागि सङ्घलाई अनुदान रकम उपलब्ध गराउने भएको छ। सङ्घले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रममार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट वञ्चित नागरिकको निःशुल्क आँखा उपचार गर्ने जनाएको छ।

नेपाल नेत्र ज्योति सङ्घले हाल देश भरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार