काठमाडौँ । नेपाली नर्सहरूलाई बेलायत रोजगारीका लागि पठाउने मार्ग प्रशस्त भएको छ । नेपाल सरकार र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित भएसँगै बेलायतमा नर्स पठाउने बाटो खुलेको हो ।
असार १८ गते सोमबार स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी विषयमा द्विपक्षीय श्रम सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूतले हस्ताक्षर गरेका छन् ।
यस अघि ६ भदौ २०७९ मा नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता भएको थियो । बेलायतमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारीका लागि अवसर दिने विषयमा भएको उक्त सम्झौतामा सन् २०२३ देखि कार्यान्वयनमा जाने भन्ने थियो । सोहि बमोजिम सम्झौता भएको ९ महिनामा प्रोटोकल पारित भएर हस्ताक्षर भएको हो ।
बेलायतले १० हजार नेपाली (नर्स) माग गरेको थियो । त्यसका लागि विभिन्न मापदण्ड तोकिए थियो । पहिलो चरणमा पाइलट प्रोजेक्टको रूपमा १०० देखि २०० जनालाई पठाउने र उनीहरूको कार्यदक्षताको आधारमा थप नर्सहरुको बारेमा निर्णय गर्ने भन्ने उल्लेख थियो ।
दुइ देशबीच प्रोटोकलमा हस्ताक्षर गरिएसंगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्राविधिक तयारी गरी आगामी एक महिना भित्र आवेदन माग गर्ने तयारी गरेको छ ।
सम्झौता बमोजिम पहिलो चरणमा कम्तीमा १०० जना नर्सलाई बेलायत पठाउने गरी अनलाइन मार्फत आवेदन आह्वान गरिने मन्त्रालयले जनाएको छ ।
प्रोटोकल अनुसार आबेदन माग गरी मापदण्ड पुगेका नर्सहरू सर्ट लिस्टमा नाम निकालिनेछ । र अन्तर्वार्ता मार्फत बेलायत जानका लागि छनोट गरिने छ । छनोटको सम्पूर्ण प्रक्रिया नेपालमा वैदेशिक रोजगार विभागबाट हुनेछ ।
सम्झौताअनुसार बेलायतमा नेपाली नर्सहरूले पाँच वर्ष काम गर्न पाउनेछन् । पहिलाे तीन महिनासम्म सहयोगीका रूपमा काम गर्नु पर्नेछ । त्यसपछि बेलायतकाे लाइसेन्स प्राप्त हुन्छ ।
कस्ता व्यक्तिले आबेदन दिने ?
नेपालमा २ वर्ष काम गरेकोअनुभव भएको, नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स लिएका स्टाफ नर्स, बिएस्सी नर्सिङ, एमस्सी नर्सिङ गरेका नेपाली नर्सहरूले बेलायतमा हेल्थ केयर एसेस्टेन्टका लागि आवेदन दिन पाउने छन् । उमेरको हकमा २० वर्ष पुरा गरेर ४५ वर्ष ननाघेको हुनु पर्नेछ ।
यसका साथै इन्टरनेशन इंग्लिस ल्याङ्गवेज टेस्टिङ सिस्टम (IELTS) मा ७ अङ्क तथा अक्यूपेशनल इङ्लिस टेस्ट (OET) मा ‘बी’ स्कोर ल्याउनु पर्नेछ । आईईएलटीएसको रिटनमा ६.५ अंक अनिवार्य ल्याउनु पर्नेछ । OET मा रिडिङ, राइटिङ र लिस्निङ हुनेछन्, जसमा राईटिङमा कम्तिमा ‘सी प्लस’ ल्याउनु पर्नेछ ।
सेवा सुविधा
सेवा सुविधाकाे हकमा नेपाली नर्सले बेलायती नागरिक सरह सेवा सुविधा पाउनेछन् । सम्झौताअनुसार बेलायतमा काम गर्न जाने हेल्थ केयर असिस्टेन्टहरूको न्यूनतम मासिक तलब वार्षिक करिव २६ हजार पाउण्ड हुनेछ । यसमा बीमा, पेन्सन र ट्याक्स काटिनेछ ।