काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक अस्पतालहरु पनि स्वास्थ्य मन्त्रालयकै सम्पती भएकाे बताएका छन् ।
सर्लाहीको कौडेना गाउँपालिका फुलपरासीमा नव निर्मित १५ शैयाको सामुदायिक अस्पतालको मंगलबार उदघाटन गर्दै मन्त्री बस्नेतले सम्पूर्ण नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यको भएकाले सामुदायिक अस्पतालहरु पनि राज्यकै सम्पती भएको बताएका हन् ।
मन्त्री बस्नेतले भने ‘यो अस्पताल कौडेना गाउँपालिकाको मात्र सम्पती होइन, सर्लाही जिल्लाकै सम्पती हो र स्वास्थ्य मन्त्रालयकै सम्पती हो ।’
मन्त्री बस्नेतले सामुदायिक अस्पतालको विकास र बिस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफ्नो पहिलो प्राथमिकता विपन्न, गरिव एवं वेवारिसेले सर्वसुलभ उपचार पाउनु पर्ने भएकाले आफु त्यसमा लागेको र सफलता पाउँदै गइरहेको मन्त्री बस्नेतले बताए ।
स्वास्थ्य मन्त्रालय मातहतका ९ वटा केन्द्रीय अस्पतालहरुलाई विपन्न विरामीका लागि आफ्ना जनरल वार्ड निशुल्क गर्ने निर्णय गराएर २ हजार २८ शैयामा अहिले विपन्नहरुले सहज उपचार पाउन थालेको मन्त्री बस्नेतले जानकारी दिए ।
गरिव र विपन्नको सिफारिस स्थानिय सरकारका वडाअध्यक्षहरुले गर्नु पर्ने निर्णय गरेर आफुले जनताको आधारभूत आवश्यकता पूरा गर्न सहज बनाएको मन्त्री बस्नेतले बताए ।
मन्त्री बस्नेतले दुई हप्ताभित्रै स्वास्थ्य मन्त्रालय मातहतका संघिय अस्पतालहरुका सबै जनरल वार्ड निशुल्क गरिने दावी गरे ।
उदघाटन समारोहमा खानेपानी तथा सरसफाई मन्त्री महेन्द्रराय यादव, नेपाली का्ग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश यादव, प्रदेश सांसद जंगीलाल राय र कौशल किरोर यादव लगायतका नेता कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
अस्पताल उदघाटनका लागि मन्त्री बस्नेत आजै सर्लाही गएका हुन ।