काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नियम अनुसार गरिब, असहाय र विपन्न बिरामीलाई निःशुल्क बेड उपलब्ध नगराउने अस्पताल बन्द गर्ने चेतावनी दिएका छन् ।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गका लागि १० प्रतिशत बेड निःशुल्क नदिने अस्पताल नवीकरण नगर्ने वा सेवा बन्द गर्ने चेतावनी दिएका हुन् ।
अस्पतालले स्वीकृति लिँदा १० प्रतिशत शय्या र उपचार निःशुल्क उपलब्ध गराउने सहमति हुन्छ । मन्त्री बस्नेतले कुनै अस्पतालले उक्त सहमति कार्यान्वयन नगरेको भए जो–कोहीले सुझाव दिन सक्ने बताए । उनले जुन अस्पतालले कार्यान्वयन गर्दैन त्यस्ता अस्पताललाई चल्न नदिने वा नवीकरण नै रोकिदिने चेतावनि दिए ।
मन्त्री बस्नेतले २२ जिल्लाका विपन्न नागरिकले परिचयपत्र देखाएर र अन्य जिल्लाकाले वडा कार्यालयको सिफारिसका आधारमा अस्पतालबाट निःशुल्क शय्याको सुविधा लिन सक्ने बताए । त्यस्तै, सरकारी अस्पतालमध्ये संघीय सरकार मातहत रहेका अस्पतालका जनरल शय्या निःशुल्क गर्दै लगिएको पनि उनले बताए ।
संघीय सरकार मातहत रहेका अन्य अस्पताल र प्रदेश तथा स्थानीय सरकार मातहतका अस्तापलमा शय्या पनि निःशुल्क गर्ने विषयमा छलफल भइरहेको मन्त्री बस्नेतले बताए ।