चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा हिजो खसेको पहिरोले २० घण्टादेखि सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउन नसक्दा हजारौ यात्रुहरुको विचल्ली भएको छ ।
पहिरो झर्न नरोकिएको कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार अहिले पहिरो खस्न केही कम भएकाले ‘दुवैतर्फबाट डोजरले पन्छाउन सुरु गरिएको तर भिरबाट पहिरो खस्न पुरै नरोकिएकोले बाटो खुलाउन अझै केहि समय लाग्ने छ ।
मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सडक अवरुद्ध छ । सडक अवरुद्ध भएको कारण यात्रुहरुले सास्ति व्याहोर्नु परेको छ । सो रुट भएर चल्ने सवारी साधनलाई भने वैकल्पिक सडक भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
मुग्लिनमा सवारी जामका कारण पोखरा काठमाण्डौं तर्फको क्षेत्रमा जाने सवारी साधनसमेत समस्यामा परेका छन् ।
बाटो पहिरोले अबरुद्ध भएपछी गन्तव्यमा पुग्न मानिसहरु झोलुङ्गे पुल तरि गन्तव्य तिर लागिरहेका छन् ।
