• शुक्रबार, साउन २९ २०८३

हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित गर्नु हाम्रो दायित्य: स्वास्थ्य मन्त्री बस्नेत


बिहिबार, असार १४ २०८०
1.1K
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित गर्नु सबैको सामुहिक दायित्व भएको बताएका छन् ।

कान्ति बाल अस्पतालले विश्व स्वास्थ्य संगठन र सेन्ट जुडे चिल्ड्रन्स रिसर्च हस्पिटलको सहकार्यका धुलिखेलमा बिहीबार आयोजना गरेको ‘नेशनल वर्कसप अन एसिलेरेटिङ चाइल्डहूड क्यान्सर इनिसिएटिभ’ बालबालिकामा हुने क्यान्सर सम्बन्धी दुई दिने कार्यशाला समापनको अवसरमा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।

मन्त्री बस्नेतले कार्यशालामा सहभागी स्वदेशी र विदेशी बाल क्यान्सर रोग विज्ञहरुको सुझाव र सल्लाह अनुसार बालबालिकामा हुने क्यान्सरको उपचारका लागि सरकारले पहल गर्ने र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो दायित्य पुरा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

मन्त्री बस्नेतले बालबालिकाको क्यान्सर उपचारमा संलग्न चिकित्सकहरुले गरिरहेको उपचार सेवाको प्रशंसा गर्दै भविश्यका चुनौति सामना गर्ने गरि योजना बनाएर अगाडि बढ्नु पर्ने सुझाव दिए । मन्त्री बस्नेतले क्यान्सरको संक्रमण देखिएका बालबालिका ठूलो संख्यामा उपचारमा नआएको तथ्यांकले देखाएकाले उनीहरुलाई उपचार ल्याउनु पर्ने र निको हुने दर बढाउने गरि काम गर्न विज्ञहरुलाई सुझाव दिए ।

कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले नेपालमा वर्षेनी १५ सय देखि २ हजार जना बालबालिकामा क्यान्सर देखिने अनुमान गरिए पनि त्यसको एक तिहाईमात्र उपचारमा आउने गरेकोले बाकी बच्चाहरुको खोजी गरेर उपचारमा ल्याउनु पर्ने अहिलेको प्रमुख चुनौति भएको बताए । उनले ‘वर्षमा १५ सय देखि २ हजार नयाँ बालबालिकामा क्यान्सर देखिन्छ । तर उपचारमा ५०० मात्र आउछन । दुई तिहाईलाई पनि उपचारमा ल्याउनु पर्छ ।’

विश्व स्वास्थ्य संगठन नेपाल, नसर्ने रोग एवं मानसिक रोगका टीम लिडर डा. ग्याम्पो दोर्जीले नेपालमा कति जना बालबालिकामा क्यान्सर छ भन्ने यकिन तथ्यांकको समेत अभाव भएकाले समस्या थपिएको बताए ।

कान्ति बाल अस्पतालका निर्देशक डा. युवनिधि बसौलाले कान्ति बाल अस्पताल सहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीपी कोइराला क्यान्सर अस्पताल भरतपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थामा बालबालिकाको क्यान्सरको उपचार भइरहेको जानकारी दिदै सन् २०३० सम्म क्यान्सरको समस्या भएका ६० प्रतिसत बालबालिकालाई उपचारमा ल्याउनु सक्नु पर्ने चुनौति रहेको बताए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बालबालिकामा हुने क्यान्सरको रोकथाम र उपचारमा सबैको सहकार्य हुनु आवश्यक रहेको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का समस्य सचिव डा. प्रदीप ज्ञवालीले परिषद्ले क्यान्सर विरामीको तथ्यांक संकलनदेखि अनुसन्धानका क्षेत्रमा काम गरिरहेको र भविश्यमा बालबालिकामा हुने क्यान्सरका बिषयमा पनि अनुसन्धान गर्ने योजना रहेको जानकारी दिए ।

कान्ति बालअस्पतालका क्यान्सर विज्ञ डा. सुधिर सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै विकसित देशहरुमा ८५ प्रतिसत बालबालिकालाई क्यान्सरको उपचार पछि निको बनाउन सकिने अवस्था रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालमा वास्तविक तथ्यांकको अभावमा निको हुने दर यकिन गर्न समेत समस्या रहेको बताए ।

नेपालले ‘डब्लूएचओ ग्लोवल इजिसिएटिभ अन चाइल्टहूड क्यान्सर’ जिआईसिसीमा सन् २०२० मा सुचिकरण भएर सन् २०३० सम्म ६० प्रतिसत बालबालिकालाई क्यान्सरको उपचारमा ल्याउने प्रतिवद्दता जनाएको थियो । सो अनुसार काम अगाडि बढाउन कार्यशाला आयोजना गरिएको हो । कान्ति बाल अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा. बाबुराम गौतमले कार्यशाला निकै फलदायी भएको र विज्ञहरुका सुझावका आधारमा भविश्यको रणनीति बनाएर काम गर्ने बताए ।

कार्यशालामा विश्व स्वास्थ्य संगठन मुख्य कार्यालय, दक्षिण पूर्वि एशियाली राष्ट्रका बाल क्यान्सर विज्ञहरु, विभिन्न देशबाट आएका बाल क्यान्सर रोग विज्ञहरु, अनुसन्धानकर्ता, नेपालका विभिन्न क्यान्सर अस्पतालका विज्ञहरु र स्वास्थ्य मन्त्रालयका अधिकारीको सहभागिता थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार