काठमाडौं । विपन्नका असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचारको लागि सरकारी अस्पतालले छुट्याएको शैयाको संख्या २ हजार २८ पुगेको छ ।
भोलि बिहिवार देखी उपत्यकाका गंगालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले पनि विपन्नका लागि शैया निःशुल्क गराउने निर्णय गरेसंगै निःशुल्क शैयाको संख्या २ हजार २८ पुगेको हो ।
भोलिदेखि कान्तिबाल अस्पतालले ६० शैया, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५० शैया, ट्रमा सेन्टरले १५० शैया र शहिद गंगालाल हृदयरोग केन्द्रले ९० शैया निःशुल्क गर्ने निर्णय गरेका छन् ।
वीर अस्पतालले आफ्ना ७०० शैया र कोशी अस्पतालले ३३० शैया विपन्नका लागि निःशुल्क गर्न यस अगाडिनै घोषणा गरिसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बिस्तारै देशभरिका केन्द्रिय अस्पतालहरुमा पनि विपन्नका लागि निःशुल्क शैया थप्दै जाने बताए । शैया निःशुल्क गरेपछि अस्पतालहरु माथि पर्ने आर्थिक भार कम गर्ने केहि बजेट सम्बन्धीत अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरि काम भईरहेको मन्त्री बस्नेतले जानकारी दिए ।
स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले बजेट अभाव देखाएर सरकार पन्छिन नमिल्ने भएकाले यो निर्णय सबै अस्पतालहरुले कार्यन्वयन गरेरै छाड्ने दावी मन्त्री बस्नेतले गरे ।
मन्त्री बस्नेतले निजी अस्पतालहरुलाई पनि जिम्मेवार बनाउन नियम अनुसार कुल शैयाको १० प्रतिसत शैया विपन्नका लागि निःशुल्क छुट्याउनु पर्ने नियम पनि कडाईका साथ लागु गराउन पहल भइरहेको बताए ।
मन्त्री बस्नेतले सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्न अभियाननै चलाएर पहल सुरु गरेका थिए ।