• आइतबार, साउन १० २०८३

किशोरावस्थाको मानसिक स्वास्थ्यका बिषयलाई मिडियाले महत्व दिनु पर्ने विज्ञको सुझाव


सोमबार, असार ११ २०८०
820
Shares

काठमाडौं । किशोरोवस्थाको मानसिक स्वास्थ्यका बिषयमा सञ्चारमाध्यमले महत्व दिनु पर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले हेल्थकेयर पत्रकार समाजसँगको सहकार्यमा सोमबार राजधानीमा आयोजना गरेको ‘किशोरावस्थाको मानसिक स्वास्थ्यको मुद्दा र सञ्चारमाध्यमको भूमिका’ बिषयक अन्तरक्रियामा विज्ञहरुले मानसिक स्वास्थ्यका बिषयमा अझै पनि मिडियाको ध्यान नपुगेको औल्याएका हुन ।

कान्ति बाल अस्पतालका वरिष्ठ मनोचिकित्सक डा उत्कर्ष कार्कीले नेपालमा ठूलो संख्यामा किशोरकिशोरीहरुले मानसिक समस्याको सामना गरिरहेको भए पनि मिडियामा त्यो समस्या प्राथमिकतामा पर्न नसकेको बताए ।

मानसिक समस्या उपचार पछि निको हुन्छ भन्ने सूचना सम्प्रेषण गर्नमा मिडियाले कन्जुस्याई गर्न नहुनेमा डा कार्कीले जोड दिए ।

वरिष्ठ जनस्वास्थ्य विद् डा अरुणा उप्रेतिले मानसिक समस्या गरिवीका कारण मात्र हुन्छ भन्ने भ्रम समाजमा व्याप्त रहेकोले यो समस्या सबै वर्ग, उमेर समूह र जातजातीलाई हुन सक्छ भन्ने सन्देश मिडियाले सम्प्रेषण गर्नु पर्ने बताइन । मानसिक स्वास्थ्यको बिषयलाई जनचेतना अभियानकै रुपमा अगाडि बढाउनु पर्नेमा डा। उप्रेतिले जोड दिइन ।

कार्यक्रममा किशोरावस्थाको मानसिक स्वास्थ्य र मिडियाको भूमिका बिषयक प्रस्तुतिकरण गर्दै हेल्थकेयर पत्रकार समाजका महासचिव एवं हेल्थ टुडेका सम्पादक पदमराज जोशीले मानसिक स्वास्थ्यका मुद्दालाई मिडियाले प्राथमिकता दिदै आइरहेको भए पनि किशोरावस्थाको स्वास्थ्यलाई छुट्टै रुपमा हेर्नु पर्ने आवश्यकता रहेको महसुस भएको बताए ।

बिगत ३ वर्षमा मिडियाले कोभिडलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दा किशोरावस्थाको मानसिक समस्याका मुद्दा ओझेलमा परेको हुन सक्ने बताउदै भविश्यमा यी मुद्दा मिडियाको प्राथमिकतामा पर्ने बताए ।

कार्यक्रममा ३० भन्दा बढी स्वास्थ्य पत्रकारहरु सहभागि थिए । सहभागीले मानसिक समस्याका बिषयमा विभिन्न जिज्ञाषा राखेका थिए । सहभागीहरुको जिज्ञाषाको जवाफ डा उप्रेति, डा कार्की र पत्रकार जोशीले दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार