गोरखा । गोरखा नगरपालिका क्षेत्रमा करिब ४० हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ ।
१४ वटै वडाका बिभिन्न स्थानमा किसानले लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको गोरखा नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
केहि समययता सो किराका कारण मकै विनाश हुन थालेपछि किसान चिन्तित बनेका छन् । यता किसानले लगाएको मकैमा फौजी किराको असर देखिन थालेपछि नगरपालिकाले विषादी वितरण थलेको कार्यालयका कृषि विकास शाखा प्रमुख नविन अधिकारीले जानकारी दिए ।
कार्यालयले सबै वडाका किसानका लागि ईमामेक्टिन बेन्जाेईट नामक विषादी वितरण गरिरहेको उनको भनाई छ ।

‘मकैमा फौजी किराको असर सबै वडामा देखिएको छ, तत्काल रोकथाम र किरालाई मार्ने विषादी वितरण सुरु भइसकेको छ’ नगरपालिकाका कृषि शाखा प्रमुख अधिकारीले भने ‘तत्कालका लागि प्रति वडा ३ सय पोकाका दरले निशुल्क रुपमा विषादी दिएका छौ, नपुगे फेरी पठाउछौ ।’
त्यस्तै कार्यालयका लागि कृषी ज्ञान केन्द्रले पठाएको २८ थान न्यापस्याक स्प्रेयर समेत प्रत्येक वडामा पठाइसकेको अधिकारीले बताए ।
अमेरिकन फौजी किरा मकै वालीमा लाग्ने पुतली वर्गको रात्रीचर किरा हो । विशेष गरेर लार्भा अवस्थाको मकैको पात, गुभो, धान चमरा, जुँगा, घोगा तथा डाँठमा यस किराले क्षती पु¥याउने उनको भनाई छ ।
