• शनिबार, साउन ९ २०८३

अब वीर अस्पतालमा उपचार गराउँदा ‘बेड चार्ज’ नलाग्ने


शुक्रबार, असार ८ २०८०
1.2K
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनपछि वीर अस्पतालले आजैदेखि लागु हुने गरि अस्पतालका ७ सय शैया निःशुल्क गरेको छ ।

बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति सहित रेक्टर, रजिष्ट्रार र डिन नियुक्ती गरेपछि न्याम्सको सहकुलपतिको हैसियतले मन्त्री बस्नेतले न्याम्सका उपकुलपति सहित पदाधिकारीलाई मन्त्रालयका बोलाएर वीर अस्पतालका सबै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएका थिए ।

शुक्रबार न्याम्स पदाधिकारीको बैठकले क्याविन र आईसियू बाहेक वीरका सबै ७ सय वटै शैया निःशुल्क गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले राजधानीमा शुक्रबार आयोजना गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक सार्वजनिकिरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य मन्त्री र न्याम्सको सहकुलपतिको हैसियतमा हिजै न्याम्सका पदाधिकारीलाई बोलाएर वीर अस्पतालका ७ सय वटै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएको थिए । आज निर्णय भएर कार्यन्वयनमा आयो । जनताका पक्षमा काम गर्न सकेकोमा खुशी लागेको छ ।’

वीर अस्पतालमा यो भन्दा पहिले जनरल बेडको शुल्क दैनिक २०० रुपैया लाग्ने गरेको थियो । ७०० शैया निःशुल्क भएपछि वीरलाई करिव ६ करोड भार थपिने छ ।

न्याम्सका नवनियुक्त उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले पनि स्वास्थ्य मन्त्री बस्नेतज्यूले पटक पटक दिनु भएको निर्देशन अनुसार न्याम्सका नव नियुक्त पदाधिकारको पहिलो बैठकले सबै जनरल वार्ड निःशुल्क गर्ने निर्णय गरेको बताए । उनले क्याविन र आईसियू बाहेक सबै शैया निशुल्क गरेपछि अपुग हुने रकम स्वास्थ्य मन्त्रालयसँग माग गर्ने बताए ।

मन्त्री बस्नेतले आफुले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेको दिनदेखि नै आफ्नो चिन्ता र चासो विपन्न विरामीलाई कसरी सहज तरिकाबाट उपचार सेवा दिन सकिन्छ भन्नेमा रहेको र त्यसमा आफु सफल हुदै गइरहेको बताए ।

हरेक अस्पतालले विपन्नलाई १० प्रतिसत शैयामा उपचार निःशुल्क दिनै पर्ने बाध्यकारी व्यवस्था आफुले कडाईका साथ लागु गर्न लागेको र धेरै अस्पतालले नियम अनुसार सेवा दिन थालेको मन्त्री बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतले विपन्नको उपचारका लागि छुट्टै फन्ड बनाएर त्यसबाट उनीहरुको निशुल्क उपचार गर्न सकिने र आफु त्यो काममा अगाडि बढिसकेको बताए । सूर्ति जन्य पदार्थ र मदिरामा कर बढाएर त्यो करको रकमबाट विपन्नको उपचार गर्ने गरि आफु लागेको र यो अभियानमा सबैको साथ चाहिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार