गोरखा । गोरखाका दलित संघसंगठनहरुले रुकुम पश्चिम हत्याकाण्डका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
बिहिबार संयुक्त दलित संघर्ष समिति गोरखाले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै समितिले जातीय भेदभाव गरी अमानवीय व्यवहार गर्नेहरु सबैलाई कानूनी कारबाही गर्न माग गरेका हुन् ।
अन्तरजातीय बिबाह गर्न खोजेको भन्दै खेदेर हत्या गर्ने जस्तो जघन्य अपराध गर्नेलाई कानूनी कारबाही गर्नुको साँटो भाषिक तोडमोड र जालझेल गरी अपराधीलाई उन्मुक्ति दिन खोजिएको भन्दै विज्ञप्तिमा निश्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ की गैरदलित एक युवतीसंग बिबाह गर्न गएका जाजारकोटका २१ बर्षका नवराज बिकसहितको टोलीमध्ये चार जनाको मृत्यु भएको थियो भने दुई जना अहिलेसम्म बेपत्ता छन् ।
विज्ञप्तिमा बिभिन्न राजनीतिक दलसंग सम्बद्ध दलित संघसंगठन, दलित समुदायका सामाजिक अगुवाहरुले हस्ताक्षर गरेका छन् ।