काठमाडौँ । दश दिनभित्रमा नर्सिङको भर्ना कार्यक्रम अगाडि नबढाएर आन्दोलन गर्ने चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिले चेतावनी दिएको छ ।
निजी मेडिकल शिक्षा अध्यापन गराउने शिक्षालयहरूले १० दिनभित्रमा नर्सिङको भर्ना कार्यक्रम अगाडि बढाउन अल्टिमेटम दिएको हो । समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई ज्ञापन पत्र बुझाउँदै १० दिने अल्टिमेटम दिएको हो ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनको कारण देखाउँदै परिषद्ले विगत २ वर्षदेखि प्रमाणपत्र तहको नर्सिङ कार्यक्रमको भर्ना रोकेको छ । जसले गर्दा ७० वटा नर्सिङ कलेजहरू बन्द अवस्थामा छन् । यो वर्ष समेत उनीहरूको नवीकरण गरिएको छैन । र भर्ना प्रक्रिया अगाडि बढ्न नदिने अवस्था छ ।
‘परिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन २०४५ को अधिकार प्रयोग गर्दै आजको मितिले १० दिन भित्र परिषद् ऐनको मर्म, नीति, सो अनुसार निर्मित मापदण्डका आधारमा निर्बाध रूपमा विगत २४ वर्ष देखि सञ्चालनमा रहेका शिक्षालयहरूमा नर्सिङ कार्यक्रमको भर्ना निस्शर्त खोल्ने निर्णय गरी सार्वजनिक सूचना गर्न अनुरोध गर्दछौँ’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सो समयावधिपछि सङ्घर्ष समिति आफ्ना चरणबद्ध सङ्घर्षका कार्यक्रमका साथ अगाडि बढ्ने चेतावनी दिइएको छ । सिटिइभिटिको तर्फबाट भएको अन्यायको विरुद्धको सङ्घर्षको क्रममा हुन सक्ने क्षतिको जिम्मेवारी परिषद् कार्यालय नै लिनु पर्ने उनीहरूको भनाई छ ।
प्राविधिक शिक्षालाई विनाश गर्ने गरी राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई देखाउँदै सिटिइभिटी आफैँले ७० वटा नर्सिङ कार्यक्रममा विगत २ वर्ष देखि भर्ना स्थगन गरेको उनीहरूको भनाई छ ।
हेर्नुहोस ज्ञापन पत्र


