काठमाडौँ ।काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएका छन् । मेयर बालेन शाहले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएका हुन् । उनले लेखेका छन् महानगरको इतिहासमा यो पहिलो पटक हो ।
त्यसबाट लक्षित वर्गका १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको र प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने उनले जानकारी गराएका छन् ।
हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने र त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने शाहले उल्लेख गरेका छन्
मेयर शाहले कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने भन्दै कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको जानकारी गराएका छन् ।
संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा मिति २०८० वैशाख २४ गतेको परिपत्र र मिति २०८० जेठ १० गतेको गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना बमोजिम मिति २०८० साल जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी मिति २०८० साल जेठ १६ गते कार्यालय समयभित्र काठमाडौं महानगरको शिक्षा विभागमा अनिवार्य रूपले पठाउन सूचित गरेको थियो।
समयावधि भित्र छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयले मिति २०८० साल जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न आग्रह गरेको थियो ।